सर्वोच्चको आदेश : आइसोलेसनमा रहेकालाई पीसीआर परीक्षणपछि मात्र घर पठाउनू
Tuesday, June 23rd, 2020, 8:00 pm
काठमाडौं , असार ९ । आइसोलेसनमा रहेकाहरूलाई पीसीआर परिक्षण गरेर मात्रै घर पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलासले पूर्ण रूपमा निको भएको सुनिश्चित गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश गरेको हो ।
आइसोलेसनमा रहेका बिरामीहरूको संख्या र सरकारका परीक्षणको क्षमता हेर्दा आइसोलेसनमा रहेका बिरामीहरूको पुनः पीसीआर परीक्षण गर्न सकिँदैन भन्ने नदेखिएको आदेशमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २० गते उपचारका क्रममा आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षण नदेखिए निश्चित अवधिपछि विनापरीक्षण घर पठाउन सकिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जारी निर्देशिकाको दफा ६ कार्यान्वयन नगर्न पनि आदेश गरिएको छ । दफा ६ मा लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षणबिनै घर पठाउने निर्देशन थियो ।