प्रदेश नं १ मा कोरोना नियन्त्रणमा २५ करोड ८३ लाख खर्च
Tuesday, June 23rd, 2020, 5:32 pm
विराटनगर, असार ९ । प्रदेश १ सरकारले कोरोना नियन्त्रणमा २५ करोड ८३ लाख खर्च गरेको छ । प्रदेशसभाको मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना नियन्त्रणको लागि २५ करोड ८३ लाख खर्च भएको जानकारी गराएका हुन् ।
कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्दै मन्त्री कार्कीले उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिएका थिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसले खर्चको विवरण मागेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेका हुन् । मन्त्री कार्कीका अनुसार प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि निर्माण गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार जम्मा भएको थियो ।
उक्त कोषबाट प्रदेश सरकारले १९ करोड ८२ लाख ७१ हजार खर्च गरिसेकेको छ । कोषको रकम मुख्यमन्त्रीको कार्यालयले ५० लाख खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २ करोड खर्च गरेको छ ।
कोरोना नियन्त्रणको लागि कोषबाट सबैभन्दा बढी १५ करोड ३४ लाख आन्तरिक मामिला तथा कानून मन्त्रालयले गरेको छ । कोषबाट सामाजिक विकास मन्त्रालयले २ करोड ४८ लाख खर्च गरेको छ ।
कोषबाहेक सामाजिक विकास मन्त्रालयले आफ्नो नियमित बजेटमार्फत ३ करोड ३० लाख कोरोना नियन्त्रणको लागि खर्च गरिसकेको छ ।
त्यसैगरी संघीय सरकारले प्रदेश १ सरकारलाई कोरोना नियन्त्रणको लागि २ करोड २० लाख पठाएको मन्त्री कार्कीले जानकारी दिए । सबै खर्च गरेर प्रदेश १ सरकारले कोरोना नियन्त्रणको लागि २५ करोड ८३ लाख ९३ हजार खर्च भएको आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले जानकारी दिए ।