झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल
Monday, June 22nd, 2020, 4:08 pm
झापा, असार ८ । झापाको कनकाई नगरपालिकाले पाँच दिनका लागि नगर क्षेत्र सिल गरेको छ । समुदायमा कोरोना फैलिन सक्ने अनुमान गरेर नगरपालिकाले सोमबारदेखि आगामी शनिबारसम्मका लागि नगर क्षेत्र सिल गरेको हो ।
आइतबार कोरोना संक्रमण पुष्टि भएको महिलाका कारण समुदायमा संक्रमण फैलिएको हुन सक्ने भन्दै नगरपालिकामा बसेको आकस्मिक बैठकले एक सूचना जारी गर्दै स्वास्थ्यबाहेकका सबै क्षेत्र आजदेखि आगामी शनिबार राति १२ बजेसम्मलाई बन्द गर्ने घोषणा गरेको हो ।
आइतबार संक्रमण पुष्टि भएकी महिला कुवेतबाट फर्किएकी हुन् । उनी कनकाईको दुर्गापुरस्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी थिइन् । उनको घर र क्वारेन्टिन नजिक भएकाले परिवारसँग उनको भेटघाट भएको बुझिएको छ ।
जानकारी अनुसार महिलाको आफ्नो बच्चासँग भेट भएको थियो । बच्चा लिएर उनका आफन्त क्वारेन्टाइनमै पुगेका थिए । बच्चालाई भेटेर ती महिलाले चुम्मा गरेको, बोकेको र पैसासमेत दिएको बताइन्छ ।
बच्चालाई चुम्मा गरेर पैसा समेत दिएकाले समुदायमा संक्रमण फैलिएको हुन सक्ने नगरको अनुमान छ । बच्चालाई परिवारका अन्य सदस्यले बोकेको र गाउँसमेत घुमेको बताइएको छ ।
नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले संक्रमणको जोखिमलाई ख्याल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्नलाई नगर क्षेत्र सिल गरिएको जानकारी दिए ।