कोरोनाको उपचारमा प्रभावकारी देखिएका डेक्सामेथासोनका साइड इफेक्टहरू
Sunday, June 21st, 2020, 7:13 pm
काठमाडौं, ७ असार । केहि दिन यता डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएसंगै मानिसहरूमा केहि आशा जागेको छ । डेक्सामेथासोनले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएपछि यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिसले प्रयोग गर्न सकिने बताएपनि बिभिन्न अवस्थामा हानीकारक हुन सक्ने हुदा यसको प्रयोगबारे सचेत हुनुपर्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
बीबीसीमा उल्लेख गरिइ अनुसार सस्तो र राम्रै स्तरमा उत्पादन भइरहेको डेक्सामेथासोन शरीर सुन्निनेदेखि दम र जोर्नीको दुखाइ कम गर्न यसको प्रयोग हुँदै आएको छ । कोरोना भाइरस सङ्क्रमितहरूले डेक्सामेथासोनको कम मात्रा सेवन गर्नु पर्ने हुँदा साइड इफेक्ट कम हुन्छ । तर, डेक्सामेथासोनको सेवन गरेपछि निन्द्रा लाग्न गाह्रो हुने, तौल बढ्ने, शरीरमा तरल पदार्थ कम नहुने, आँखामा समस्या देखिने, दृष्टि कमजोर हुने, रक्तस्राव हुन सक्ने जस्ता साइड इफेक्टहरू देखिन सक्छन् । डेक्सामेथासोन वयस्कहरूका लागि पनि सिफारिस गरिएपनि गर्भवती वा स्तनपान गराइरहेका आमाहरूले भने प्रयोग गर्न नहुने बताइएको छ ।
डेक्सामेथासोन एक स्टेरोइड हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको परीक्षणमा संलग्न वैज्ञानिकहरूले डेक्सामेथासोनले औसतमा भेन्टीलेटरमा उपचार गराएका २५ जनामध्ये एक र अक्सिजन दिइएका आठ जनामा एक जनाको मृत्यु हुनबाट जोगाउन सकिने देखाएको बताएका छन् । श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीहरूमा भने डेक्सामेथासोनको फाइदा देखिएको छैन ।